काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ। 

बैंकले यस उपलक्ष्यमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित प्रविधि हो। यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पीओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामग्रीको बिल भुक्तानी गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको नियमअनुसार नै रु. २ हजारसम्मको भुक्तानीलाई बिनापिन कन्ट्याक्टलेस कार्डमार्फत पीओएस टरमिनलमार्फत भुक्तानी गर्न सकिनेछ।

यसैगरी भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकका एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने आदिजस्ता सुविधा बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था बैंकले जनाएको छ। 

२०६३ साल पुस १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी रु. १ करोड ३० लाख चुक्तापूँजीमा बैंक सञ्चालनमा आएको थियो। स्थापनाको दिन पारेर बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेका छन्। 

यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँमा डस्बिन वितरण, एम्बुलेन्स मर्मतसम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाण्डौ महानगरपालिका वडा नं. १ महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीअगाडिको सडक पेटीबाहेकको खालीचौरमा वातावरणमैत्री हरित बगैँचा निर्माणमा सहयोग गरेको छ।