काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल माध्यमलाई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ। 

ग्राहकले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन्। यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले चौबीसै घन्टा लिन सक्नेछन्। 

आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्धतिबाट सञ्चालनमा ल्याएको छ। यो सेवाका लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ ‘आस्क मुक्ति भाइ’ वा बैंकको मासकट ‘मुक्ति भाइ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ।

बैंकले डिजिटल कारोबारला प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ।