काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन्। 

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ। 

विगत तीन दशकभन्दा धेरै बैंकिङ क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक र मेगा बैंकमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।  २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब सीईओ भएर प्रवेश गरेका थिए। 

हाल पोखरेल डेभलपमेन्ट बैंकरर्स एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका छन्। उनी नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयीसमेत भएका थिए।