काठमाण्डौ । देशकै बलियो विकास बैंक, मुक्तिनाथ लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता बनेको छ । 

मुक्तिनाथ विकास बैंक साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो । 

“युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” का लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकले घोषणा गरेको छ ।  

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ वटा शाखाहरुमध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानीमा रहिरहेको छ ।