काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको मुख्य पदहरुमा चन्द्रप्रसाद ढकाल समूह स्वीप हुने संभावना देखिएको छ । 

महासंघका मुख्य पदहरु वरिष्ठ उपाध्यक्ष, जिल्लानगर उपाध्यक्ष, वस्तुगत र एशोसिएसट उपाध्यक्ष लगायतका पदहरुमा ढकाल समूह स्वीप हुने संभावना देखिएको हो । 

यो समाचार तयार पार्दासम्म जिल्लानगर  उपाध्यक्ष र वस्तुगततर्फको उपाध्यक्ष पदमा किशोर प्रधान समूहले जित निकालिसकेको छ । 

एशोसिएटतर्फको उपाध्यक्षमा पदमा पनि किशोर प्रधान समूहका शौरभ ज्योति फराकिलो मतअन्तरले अगाडि बढिरहेका छन् । 

अहिलेसम्म विभिन्न क्षेत्रमा खसेको मतको रुझान हेर्दा वरिष्ठ उपाध्यक्ष पदमा जित निकाल्न ढकाललाई हम्मे हम्मे पर्ने देखिएको छ । 

महासंघको निर्वाचनमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ । ५० प्रतिशत मतभार रहेको क्षेत्रमै ढकाल समूह कमजोर देखिएको छ । यसलाई १८ निर्वाचित सदस्यमध्ये १२ जना किशोर प्रधान समूहका निर्वाचित हुनु र जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठले ढकाल समूहका उम्मेद्वार गुणनिधि तिवारीलाई ११ मतले पछार्नुले समेत पुष्टि गर्छ । 

कार्यकारिणी सदस्यतर्फको मत खसाई र उपाध्यक्षतर्फको परिणामले समेत ढकाललाई जिल्लानगरमै सकस पर्ने देखिन्छ । 

यस्तै, वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठले निकै फराकिलो मतअन्तरको जित निकालेका छन् । यो क्षेत्रबाट समेत वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षको झै मत खस्यो भने चन्द्र ढकाललाई झट्का लाग्ने देखिन्छ । 

एशोसिएटतर्फको अहिलेसम्मको अवस्थामा समेत किशोर प्रधान समूहकै उपाध्यक्षका उम्मेद्वार अगाडि हुनु र सदस्यहरुमा समेत प्रधान समूहकै उम्मेद्वारहरु अगाडि रहनुले चन्द्र ढकाललाई यहाँ पनि निकै ठूलो सकस पर्ने देखिन्छ । 

यसरी सबैतिरको प्रदर्शन कमजोर रहेपछि चन्द्र ढकाल समूहले वरिष्ठ उपाध्यक्ष पदसहित सबै उपाध्यक्ष पद गुमाउने संभावना बढेको छ । सदस्यहरुमा पनि बहमुत प्रधान समूहले नै पाउने हालसम्मको मतपरिणामको रुझानले देखाएको छ ।