काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १२०.६८ प्रतिशतले छलाङ मारेको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४ करोड ४१ लाख रुपैयाँ बढी कमाउन सफल भएको छ । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी २० करोड ३७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष १२ करोड ६७ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा १२ करोड ८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५ करोड २८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ६७ लाख रुपैयाँ थियो । 

यस अवधिमा संस्थाले १ अर्ब ४२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई २ अर्ब १३ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ८८.३९ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष ६ करोड ६४ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १२ करोड ५२ लाख रुपैयाँ भएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी २९.९६ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १४.७२ गुणा, प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२०५.२४ रुपैयाँ रहेको छ।