काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट बैंकहरुले बचत र मुद्धतीको ब्याजदरको अन्तर ५ प्रतिशतव कायम गर्नुपर्ने व्यवस्था गरेपछि यसलाई बैंकहरुले कार्यान्वयनमा ल्याएका छन् । केन्द्रीय बैंकको अपेक्षाविपरीत बैंकहरुले बचतको ब्याजदर बढाउनुको साटो मुद्धतीको ब्याजदर घटाएर ५ प्रतिशतको अन्तर कायम गरेपछि यसले मुद्रा र वित्त बजारमा नयाँ बहस छेडिएको छ । 

बैंकहरुले आफ्नो लागत घटाउनलाई मुद्धतीको ब्याजदर घटाउने उपाय रोजेपछि यसले सेयर बजारलाई टेवा पुग्ने विश्लेषण समेत हुन थालेको छ । ७ प्रतिशत हाराहारीमा मुद्धतीको ब्याजदर सीमित बनेपछि निक्षेपकर्ताहरुले त्यो पैसा राम्रो रिटर्न पाउने आशामा सेयर बजारमा लगाउनसक्ने र यसले बजारलाई अझै सकारात्मक उचाईमा पुर्याउनसक्ने विश्लेषण समेत हुन थालेको छ । 

राष्ट्रबैंकको यो कदमले सेयर बजारलाई साच्चिकै टेवा पुग्ला त ? के भन्छन् मुद्रा, वित्त र पूँजी बजारसँग सम्बन्धित जानकार तथा विश्लेषक?

पूर्व बैंकर तथा विश्लेषक अनलराज भट्टराई अहिलेको विषम परिस्थितिमा लागत घटाउने बैंकको कदम बुद्धिमतापूर्ण नै रहेको बताउँछन् । राष्ट्रबैंकले ब्याजदरको विषयमा कुनै नीतिगत व्यवस्था गर्दा तयारीका साथ गर्नुपर्ने उनको सुझाव छ । 'राष्ट्रबैंकको पछिल्लो नीतिले अन्य सेक्टरमा तरलता प्रवाह नहुने तर, तरल मानिएको पूँजीबजारमा नै पैसा थपिने हुँदा सेयर बजार थप चलायमान हुन्छ ।' भट्टराई भन्छन्-'विश्वभरिकै सेयर बजार चलायमान भइरहेका बेला नेपालको सेयर बजार पनि अल्पकालका लागि अझै बुलिस ट्रेण्डमै जान्छ ।'

वर्तमान अवस्था सेयर बजारमैत्री वातावरण रहेको र राष्ट्र बैंकको कदमले सेयर बजारमा थप मलजल पुगेको नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको ठम्याईँ छ । 'चतुर बचतकर्ताहरुले बैंकमा भन्दा सेयर बजारमै पैसा लगानी गर्ने मनस्थिति बन्नसक्ने र बजारले समेत राम्रो रिटर्न सहजै दिइरहेकाले पनि बजार थप माथि जान सहयोग गर्दछ ।' पौडेलले भने-'ऋणको लागत समेत घटेका कारण सेयर बजारमा लगानीको वातावरण रहेको प्रष्ट देखिन्छ ।' 

'ब्याजदर न्यून हुँदै जानु भनेकै अन्य क्षेत्रमा पैसाको उपभोग नहुनु,अन्य क्षेत्र उर्बर नहुनु र जोखिमको मात्रा बढी हुनु भन्ने बुझिन्छ त्यसैले सो तरलताले सेयर बजारलाई थप उचाईमा पुर्याउनेछ ।'- नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका पौडलले थपे ।

नवील बैंकका डिजिएम मनोज ज्ञवाली बचत र मुद्दति निक्षेपमा ब्याजदर घटेपछि पुँजी बजारमा लगानी बढ्नुलाई स्वभाविक भन्छन् । ‘कोरोनाका कारण बैंकहरुले सोचेअनुरुप लगानी गर्न सकेका छैनन्, कर्जा र निक्षेपको ब्याजदर घटाएका छन्’, उनले भने, ‘अहिलेको अवस्थामा यही कारण आम लगानीकर्ता पुँजीबजारप्रति आकर्षित भएका छन्, जसले सेयर बजारमा लगानी बढ्दै गएको प्रस्ट देख्न सकिन्छ। 

पुँजीबजारमा लगानी बढ्दै गए पनि सेयर बजार अब घट्छ कि बढ्छ भन्ने नेपालको सन्दर्भमा यकिन भन्न नसकिने पनि ज्ञवालीले प्रस्टले पारे । ‘किनकि नेपालको सेयर बजार परिपक्व छैन, यहाँ हल्लाको भरमा बजार बढ्ने र घट्ने गर्छ।’, उनले थपे, ‘सेयर बजारप्रति नियमनकारी निकायहरुको भूमिका पनि फितलोजस्तै छ।’

बजारलाई अनुशासित गतिमा अगाडि बढ्न दिनुपर्ने ज्ञवालीको तर्क छ । ‘बजारलाई प्रभाव पार्ने गरी हल्ला फैलाउनेहरुमाथि कारबाही हुनुपर्छ, अनि मात्र बजारमा स्थिरता आउँछ।’, उनले भने।

नेपाल राष्ट्र बैंकको कदमलाई विश्लेषक हेमन्त बस्याल 'पखाला लाग्दा सिटामोल दिएको' उपमा दिन्छन् । राष्ट्र बैंकसँग हाल अब एकमात्र उपाय अधिक तरलता सोंस्ने बाहेक अर्को विकल्प नभएको उनको जिकिर छ । बचत र मुद्धतीबीचमा ५ प्रतिशतको अन्तर पार्नुपर्ने व्यवस्थाले बैंकहरुलाई कार्टेलिङ गर्न सहज हुने उनको दाबी छ । अल्पकालमा ब्याजदर घट्ने भएकाले चाहिँ इक्विटी मार्केटमै अल्पकालका लागि पैसा पार्किङ हुन आउने बस्यालको ठहर छ । यसका अलावा अधिक तरलता अन्य अल्पकालीन लगानीका क्षेत्रमा जाने सम्भावना पनि रहेको उनको विश्लेषण छ ।