काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा तथा अन्य अधिकांश सूचकमा छलाङ मारेको छ । 

यो कम्पनीले दोश्रो त्रैमासमा २७ करोड ९६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १५ करोड ३० लाखमा सीमित थियो । यसरी कम्पनीले अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष मुनाफामा ८२.६९ प्रतिशतले फड्को मारेको हो ।

कम्पनीले जगेडाकोष तथा जीवन बिमा कोषलाई थप बलियो बनाई लगानीकर्ताका लागि लगानीको भरपर्दो विकल्पको रुपमा पुनः आफूलाई स्थापित गरेको छ । 

समीक्षा अवधिमा नेपाल लाइफको जगेडा तथा कोष ५ अर्ब २ करोड रुपैयाँको उचाईमा पुुगेको छ, अघिल्लो वर्ष यही अवधिमा यो कोषमा ४ अर्ब ६ करोड मात्र थियो । यस्तै, ३५ अर्ब १७ करोड रहेको जीवन बिमा कोषको आकार बढी ४५ अर्ब ६३ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले ७ अर्ब १४ करोड खूद बिमा शुल्क आर्जन गरेको छ  अघिल्लो वर्ष यस्तो आर्जन ४ अर्ब ८५ करोडमा सीमित थियो । कुल बिमा शुल्क आर्जन चाहि ७२२.५२ करोड रहेको छ, जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमाशुल्क रु ४९४.८७ करोडको तुलनामा ४६ प्रतिशतले बढी हो । 

पुनर्बिमा कमिसनबाट हुने आय ४६ लाख रहेको छ । अघिल्लो वर्ष यस्तो आय ५९ लाख थियो । लगानी, कर्जा तथा अन्यबाट हुने आय ९३ करोडबाट वृद्धि भई १ अर्ब ८७ करोडको उचाईमा पुुगेको छ । यस्तै, बिमालेख धितोमा कर्जाबाट हुने आयमा दोब्बर बढीको बढोत्तरी भएको छ  

समीक्षा अवधिमा कम्पनीले २ अर्ब २५ करोड दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दाबी भुक्तानी १ अर्ब १८ करोडमा सीमित थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी १८.०६, प्रतिसेयर नेटवर्थ २७२.९३, मूल्य आम्दानी अनुपात ९८.८७ र औसत प्रतिफल दर ११.५७ प्रतिशत कायम भएको छ ।