काठमाण्डौ । व्यापार घाटा बढेका कारण गत आर्थिक वर्ष २०७७/७८ मा देशको शोधानान्तर स्थिति घाटामा देखिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा देशको शोधानान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको हो। जब कि आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा रहेको थियो।

राष्ट्र बैकंका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार यसरी शोधानान्तर स्थिति घाटा देखिनुको मुख्य कारण व्यापार घाटा नै हो । निर्यातभन्दा आयात बढेको तथा देशबाट हुने निकासी कम हुन गएपछि शोधानान्तर स्थिति घाटामा रहेको पोखरेलको भनाइ छ। 

पोखरेलका अनुसार आयात र निर्यातबीचको खाडलका कारण व्यापार घाटा बढेको छ। ‘गत आर्थिक वर्षमा १३ खर्ब ८३ अर्बको आयात भएको छ’, उनले भने, ‘जब कि नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ।’ 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापारा घाटा ३७ प्रतिशतले बढेको पोखरेलले जानकारी दिए। ‘व्यापर घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँबराबर हुँदा शोधान्तर घाटा बढेको हो’, उनले भने, ‘व्यापार घाटा बढ्दै जाँदा राष्ट्र बैंकको पुँजीगत खातामा दबाब परेको छ।’

शोधानान्तर स्थिति घाटा देखिए पनि धान्नै नसक्ने भने नभएको पोखरेलको भनाइ छ। ‘विदेशी विनिमय सञ्चिती १४ खर्ब १ अर्ब रुपैयाँ रहेको छ, जुन पर्याप्त छ’, उनले भने। 

खासगरी विलाशिता र अत्यावश्यक वस्तु आयात हुने गर्छन् । ‘अत्यावश्यक वस्तु आयात गर्नैपर्ने हुन्छ’, पोखरेलले भने, ‘तर विलाशिताका वस्तु आयातमा नियन्त्रण गरेर राष्ट्र बैंकले शोधानान्तर खातामा घाटा कम गर्न सक्छ।’ 

शोधानान्तर घाटा नियन्त्रण गर्ने औजारहरु भएकाले खासै अप्ठ्यारो नपर्ने सहप्रवक्ता पोखरेलले बताए। 

तरलता पर्याप्त

नेपाल राष्ट्र बैंकले हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको जनाएको छ। 

सहप्रवक्ता पोखरेलका अनुसार हाल बैंकिङ प्रणालीमा ९० अर्ब रुपैयाँ तरलता छ। ‘अधिक तरलता रहेकै कारण अन्तरबैंकिङ ब्याजदर घटेको छ’, उनले भने। 

हाल अन्तरबैंकिङ ब्याजदर ०.७५ प्रतिशतमा झरेको छ। 

हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४७ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको पनि पोखरेलले जानकारी दिए। बैंकहरुको सीसीडी रेसियो ७६.२९ प्रतिशत रहेको छ।