काठमाण्डौ । साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघ बीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी हालै एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोद बहादुर कुंवरले हस्ताक्षर गरे ।

तालिमको माध्यमबाट कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरू परिपालना गर्न, कर फारामहरू भर्दा हुने त्रूटिहरू कम गर्न तथा कर सहभागितामा व्यवसायीहरूको अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । अधिकांश साना व्यवसायीहरू आफू एक जनाले नै सबै काम हेर्ने जस्तैः व्यवसाय गर्ने, लेखा राख्ने, कर तिर्ने, विवरण बुझाउने जस्ता सबै काम एक्लै गर्ने हुंदा उनीहरूलाई आर्थिक ऐनले गरेका छुट, सुविधा तथा व्यवस्थाको बारेमा जानकारी गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।

सन् २०१५ देखि जीआइजेडको राजस्व प्रशासन सहयोगको प्राविधिक सहयोगमा निरन्तर रूपमा विभिन्न जिल्लामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी तालीम सञ्चालन हुंदै आएको छ । सोही कार्यक्रम अन्तरगत हालसम्म विभिन्न ३९ जिल्लामा ४६ वटा तालीम कार्यक्रम सञ्चालन भएका र पछिल्लो चरण (२०७६ भदौ देखि फागुनसम्म) मा मात्र सातै प्रदेश समेटिने गरी २० जिल्लामा २१ वटा तालीम कार्यक्रम सञ्चालन गरिएको छ । २१ वटा तालिममध्ये २ वटा तालिम महिला उद्यमीहरूलाई मात्र लक्षित गरेर सञ्चालन गरिएको थियो ।

जिल्ला छनोट गर्दा उद्योग वाणिज्य संघहरूको मागको आधारमा महासंघ र विभागले संयुक्त रूपमा त्यहांस्थित करदाताको संख्या, करदाता सेवा कार्यालयको सेवा प्रवाह तथा प्रादेशिक सन्तुलनका आधारमा छानिएको थियो । करिब १५०० भन्दा बढी करदाता व्यवसायीहरू प्रत्यक्षरूपमा तालीममा सहभागी भएर यसको फाइदा लिएका छन् ।  सबैजसो कार्यक्रममा स्थानीय आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय प्रमुखहरूको उपस्थितिमा सहभागी करदाताहरू वीच अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । जसले गर्दा कर प्रशासन र करदातावीचको सम्बन्धलाई थप जीवन्त र सहज बनाउन मद्दत पुगेको थियो । सवै कार्यक्रममा व्यवसायी स्वयम तथा वरिष्ठ लेखापालहरूको उपस्थिति थियो ।

कार्यक्रममा विशेष गरी बिल विजक जारी गर्ने, खाता पाता कसरी चुस्त दुरुस्त राख्ने, कर गणना कसरी गर्ने, कर विवरणहरू कसरी भर्ने, अनलाइन विवरण बुझाउने तरिका जस्ता विषयमा केन्द्रित रही कर अनुपालना सम्बन्धमा जोड दिइएको थियो । कतिपय व्यवसायीहरू आप्mना खाता पाता बोकेरै तालीममा सहभागी भएका थिए । त्यस्तै प्रदेश नं. १, वागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशस्थित प्रदेश उद्योग वाणिज्य महासंघहरूको व्यवस्थापनमा प्रदेश सरकार, स्थानीय सरकार र त्यहांस्थित उद्योगी व्यवसायीहरूसंग छलफल अन्तरक्रिया आयोजना गरिएको थियो । छलफलमा विद्यमान आर्थिक ऐनमा भएका कर सम्बन्धी प्रावधानले परेका समस्या तथा आगामी बजेटमा कर नीतिमा निजी क्षेत्रको सुझाव बारेमा छलफल भएको थियो  ।

साना व्यवसायीहरूलाई आफैं कर विवरण बुझाउने तरिका जान्न सकुन भन्ने हेतुले अनलाइन टयाक्स फिलिङ सम्बन्धी नमूना भिडियो महासंघको वेभसाइट तथा महासंघका सामाजिक संजालहरू फेसवुक तथा टवीटरमा समेत राखिएको छ । जसबाट कोही पनि व्यक्तिले सजिलैसंग गुगलमा सर्च गरेर सिक्न सक्छ ।
सोही कार्यक्रमको सिलसिलामा काठमाडौंमा महासंघ र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयुक्त सहकार्यमा आर्थिक पत्रकारहरुका लागि कर सम्बन्धी आधा दिने तालीम कार्यक्रम हालै सम्पन्न भयो । कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा, आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर क“ुवर, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा,  र सेजनका अध्यक्ष लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।