काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज २ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। 

गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले नागरिक लगानी कोष (सीआईटी) र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता सीआईटीको ३ हजार ७४३ रुपैयाँ र नेपाल एग्रो लघुवित्तको ५४९ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सीआईटीको ४ हजार ८० रुपैयाँ र नेपाल एग्रोको ६२६ रुपैयाँ रहेको थियो। 

यी दुवै कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ आज असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीले आह्वान गरेको सभा र लाभांश पाउन योग्य भएका छन्। इन्फिनिटी लघुवित्तका विलय हुन लागेको नेपाल एग्रोको भने सेयर कारोबार रोक्का छ। 

सीआईटीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९ प्रतिशत बोनस सेयर र बाँकी ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न सीआईटीले आफ्नो २६ औँ वार्षिक साधारणसभा यही असार १८ गते आयोजना गर्ने निर्णय गरेको छ।

यसैगरी नेपाल एग्रोले यही असार २१ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले त आर्थिक वर्षका लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजना छुट्याइएको ४ लाख २१ हजार ८०१ रुपैयाँ सभाले अनुमोदन गर्नुका साथै इन्फिनिटी लघुवित्तसँग विलय हुने सम्पूर्ण प्रक्रिया पारित गर्नेछ।