काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले आज सेयरमूल्य समायोजन गर्दै एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता १ हजार १९८.१८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १ हजार ३१८ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यो कम्पनीले आज साउन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही साउन २१ गते हुने १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी हुनेछ।