काठमाण्डौ । बोनस र हकप्रद सेयरका लागि एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस र हकप्रद सेयरका लागि एक्सेल डभेलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता ७६२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता १ हजार ५३ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।

लाभांश, वार्षिक साधारणसभा र हकप्रदका लागि बैंक सञ्चालक समितिले आज असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन, सभा भाग लिन र हकप्रदका लागि योग्य भएका छन्।

बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो असोज २६ गते डोकेको छ। 

सभाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। सोही बोनस सेयरको कर प्रयोजनार्थ छुट्याइएको ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले उल्लेखित बोनस सेयर निष्कासनका लागि आवश्यक हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ।

यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले १०ः३ अर्थात ३० प्रतिशत हकप्रद निष्कासन गर्दैछ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशत अर्थात कुल २४ करोड ३३ लाख बढीको हकप्रद निष्कासन गर्नेछ। 

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

नेपाल धितोपत्र बोर्डले गत साउन ३१ गते एक्सेल डेभलपमेन्ट बैंकलाई १०ः३ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको थियो।