काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३६८ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको आउँदो कात्तिक १६ गते हुने १७ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज कात्तिक ५ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो कात्तिक ४ गतेसम्म कायम सेयरधनीमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।