काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता सानिमाको ४१७.७८ रुपैयाँ र माछापुच्छ्रेको ३२२.०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सानिमाको ४८८.८० रुपैयाँ र माछापुच्छ्रेको ३६४.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै दुवै बैंकको सेयर कारोबारमा आउनेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यी दुवै बैंकले आज कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ गत कात्तिक ४ गते (कात्तिक ५ गते शुक्रबार र कात्तिक ६ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

सानिमा बैंकले कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। यो लाभांश बैंकको आगामी कात्तिक १४ गते हुने २८ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश बैंकको आगामी २६ गते हुने २३ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।