काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४६० रुपैयाँ रहेको थियो। 

बैंक सञ्चालक समितिको गत असोज १७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको कुल १६ प्रतिशतले हुन आउने २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँबराबरको बोनस सेयर र ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

सभा प्रयोजनका लागि आज मंसिर ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बैंकको वार्षिक साधारणसभा यही मंसिर २७ गते हुँदैछ। सोही सभाले प्रस्तावित लाभांश पारित गर्नेछ। 

नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक आपसमा मर्जरमा जाने सम्झौता गरेकोले यी दुवै बैंकको सेयर कारोबार नेप्सेले गत वैशाख ३१ गतेदेखि रोक्का राखेको छ।