काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को आर्थिक वर्ष २०७७÷७८ का लागि घोषित बम्पर प्रतिफलका इकाइमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै प्रतिइकाइ १०.८८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ २०.८८ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो योजनाका इकाइहरु कारोबारमा आउनेछन्।

यस योजनाको प्रतिफल वितरण प्रयोजनार्थ ग्लोलब आइएमई क्यापिटल आज मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर २१ गतेसम्म कायम इकाइधनीहरुले यस योजनाको प्रतिफल पाउनेछने। 

गत असोज २४ गते बसेको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले यस योजनाका इकाइधनीहरुलाई करसहित सतप्रतिशत अर्थात १०० प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई १ अर्ब रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।