काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि नेसनल हाइड्रोपावर कम्पनीको मूल्य समायोजन गरेको छ। 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता नेसनल हाइड्रोपावरको ३५०.१४ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ४१५ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज फागुन १३ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो फागुन १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ का लागि चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ। जसमा १८.५२५ प्रतिशतले हुन आउने २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशतले हुन आउने १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश कम्पनीको यही फागुन ३० गते हुने २५ औँ वार्षिक साधारणसभाले अनुमोन गरेपछि कार्यान्वयनमा आउनेछ।

सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

हकप्रद सेयर जारी गर्नका लागि नियमनकारी निकायबाट संशोधन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन भएमा सो कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ।