काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले यही फागुन ३० गते आफ्नो २८ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले अन्य कुनै कम्पनीलाई प्राप्ति गर्ने वा एकआपसमा गाभिनका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारीपत्र हस्ताक्षर गर्नेदेखि लिएर सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि छलफल गरी पारित गर्नेछ।