काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि नेको इन्सुरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै नेको इन्सुरेन्सको प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ आज चैत १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

कम्पनीको २६ औँ वार्षिक साधारणसभा यही चैत ९ गते डाकिएको छ। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय (बीमा भवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर जारीपछि जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्ने।