काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता गरिमा विकास बैंकको ४८१.०३ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ७९९.०९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता गरिमाको ५५८ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ८७९ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि गरिमा विकास बैंकले चैत ४ गते र एनएलजी इन्स्योरेन्सले चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत २ गते (चैत ३ गते होलीको सार्वजनिक बिदा, चैत ४ गते शुक्रबार र चैत ५ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

गरिमा विकास बैंकको १५ औँ वार्षिक साधारणसभा यही चैत १८ गते पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६.८१ रुपैयाँबराबरको बोनस सेयर पारित गर्नेछ। गरिमाले सहारालाई प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न गर्दाको दिनभन्दा पछाडि दोस्रो बजारबाट सेयर कारोबार भई कायम सेयरधनीहरुले प्रचलित आयकर ऐनबमोजिम बोनस सेयरबापतको कर तिर्नुपर्ने सम्बन्धित सेयरधनीहरुबाटै जम्मा गराई भुक्तानी गर्ने निर्णय बैंकले गरेको छ। 

विकास बैंकको चुक्तापुँजीको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनुपर्छ। तर साविक सहारा विकास बैंक गाभ्दा पनि गरिमाको चुक्तापुँजीको ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको नहुने अवस्था सिर्जना भएकोले अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति प्रयोजनका लागि गर्ने आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु पनि छलफल गरी अनुमोदन गर्नेछ।

यसैगरी एनएलजी इन्स्योरेन्सको १६ औँ वार्षिक साधारणसभा यही चैत १७ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२.६३ प्रतिशत नगद लाभांश रहेका छन्।

बोनस सेयर जारीपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भएर १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।