काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि यी दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल टेलिकमको १२२०.८३ रुपैयाँ र जीवन विकास लघुवित्तको ३००० रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता नेपाल टेलिकमको १४६५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५१०० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेपाल टेलिकमले चैत ११ गते र जीवन विकास लघुवित्तले चैत १२ गतेदेखि वार्षिक साधारणसभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

नेपालले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्। 

प्रस्तावित लाभांश कम्पनीको यही चैत २४ गते काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

सभाले बोनस सेयर जारी पनि कम्पनीको जारी तथा चुक्ताँपुजी १८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

यसैगरी जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारणसभा यही चैत २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। जसमा ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ३.६८ प्रतिशतले हुन आउने २ करोड २४ लाख १४ हजार ७३६.८४ रुपैयाँ नगद लाभांश छन्। 

सभाले संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।

सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।