काठमाण्डौ । हकप्रद सेयर निष्कासन प्रयोजना अपी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै प्रतिकित्ता अपी पावरको ३६३.२७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता अपी पावरको ४६६.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले हकप्रद निष्कासनका लागि आज चैत १४ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

कम्पनीले आफ्ना सेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९३६३२९२६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। 

सेयरधनीहरुले यो हकप्रदमा आउँदो वैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डको इजाजतप्राप्त सी–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। 

अपी पावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डले गत फागुन २६ गते निष्कासन अनुमति दिएको थियो।

यसअघि गत जेठमा पनि अपी पावरले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २९.३९ प्रतिशत हकप्रद बिक्री गरेको थियो।