काठमाण्डौ । बोनस सेयरका लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६४५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आइएमई जनरल इन्स्योरेन्सले आज चैत २५ गतेदेखि आउँदो वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो चैत २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो २४ औँ वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। कम्पनीद्वारा प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।