काठमाण्डौ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै नेपाल फाइनान्सको प्रतिकित्ता ३११.१८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ४५९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो वैशाख १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्। सरकारले आज वैशाख २० गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई गत चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएको हो। 

नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गर्नेछ। यद्यपि कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। 

नेपाल फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

हाल कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।