काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५३१.५३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५९० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यो कम्पनीले आज जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो ७३ औँ वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २.६ अर्ब पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ। 

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधि गर्ने २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।