काठमाण्डौ । आठौँ उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तर्क्रिया गरेको छ।
नेपाल उद्योग परिसंघ सचिवालयमा बिहीबार आयोजित ‘परिसंघमा परिचर्चा’ अन्तर्क्रियामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन आग्रह गरे। भारत, अस्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकोमा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको छ। मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनहरुलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए। उद्योग मन्त्रालय उद्योगीहरुको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिँदै उनले त्यसले उद्योगहरुको महत्व बढाउने र उद्योगीहरुको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए।
अग्रवालले नीतिगत स्थिरतामा जोड दिँदै निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगी तथा लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए।
उद्योग सचिव डा. तोय नारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यहरुलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताए। औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरुलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीहरुको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए। उनले आगामी कम्तिमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारी गराए।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रुपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउँदै आएको बताए। उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको भन्दै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको बताए। निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाइ थियो।
कार्यपत्र प्रस्तुत गर्दै परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुहरूको आयात निरुत्साहित गर्नुपर्ने बताए। उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उनीहरूले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न उनले आग्रह गरे।
कार्यक्रममा उद्योगी–व्यवसायीहरुले राखेका सुझाव एवं जिज्ञासालाई उद्योग सचिव ज्ञवाली र विभागका महानिर्देशक तिवारीले सम्बोधन गरे।
कार्यक्रममा परिसंघका उपाध्यक्षहरु राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत परिसंघ सदस्य उद्योगी–व्यवसायीहरु सहभागी थिए।
यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार’ रहेको छ।
1 minute ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago