काठमाण्डौ । मेगा बैंकलाई टुुरिजम डेभलपमेन्ट बैंक गाभ्नका लागि नेपाल राष्ट्रबैंकले आउँदो साताभित्र स्वीकृति दिने भएको छ । 

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मेगा बैंकले टुरिजमलाई आफूमा गाभ्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र आगामी साता नेपाल राष्टबैंकले अन्तिम स्वीकृति दिने जानकारी दिएका हुन् । 

नेपाल राष्टबैंकबाट स्वीकृति पाएको केही दिनमै मेगा बैंकले भव्य समारोहको आयोजना गरी दुुई संस्थाको एकीकृत बित्तीय कारोबारको सुरुवात गर्नेछ । 

मेगा बैंकले टुरिजम बैंकलाई १०० बराबर ९५ को सेयर स्वाप अनुपातमा गाभ्न लागेको हो। 

गत पुस ४ गते सम्पन्न मेगा बैंकको विशेष साधारणसभाले टुरिजमलाई गाभ्ने प्रस्ताव पारित गरेको थियो । 

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्नेछ ।

चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँया रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्तापुँजी बढेर १० अर्बको हाराहारीमा पुुग्नेछ ।