काठमाण्डौ । मेगा बैंक लिमीटेडले इतिहास रचेको छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेसँगै निजी क्षेत्रका सबैभन्दा बढी चुक्तापूँजी भएका वाणिज्य बैंकमध्येमा पर्न सफल भएको छ । 

सात वर्षअघि स्थापना हुँदाको समयमा मेगा बैंक लिमीटेड सबैभन्दा बढी चुक्तापूँजी भएको वाणिज्य बैंक रहेको थियो । सो इतिहासलाई पुनः दोहोर्याउँदै मेगा बैंकले टुरिजमलाई प्राप्तिको प्रस्ताव पारित गरेको हो ।  

मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेका मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मूूल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मूूल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।  

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्न सफल भएको मेगा बैंकका अध्यक्ष शाहले बताए । 

चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँया रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए । 

टुरिजमले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेकाले छिट्टै मर्जर प्रक्रिया टुंगोमा पुर्याएर मेगा बैंकलाई नयाँ गतिमा लैजाने उनले बताए । ‘हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौं ।’–उनले थपे ।

मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजम डेभपलमेन्टसँगको मर्जरपछि मेगा बैंकको व्यावसायिक अवसरहरु बृद्धि हुने बताइन् । चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै उनले टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुुगेको बताइन । 

उनका अनुसार, मेगा बैंकको दुईवटा एक्सटेन्शन काउन्टरसहित ४९ वटा शाखा कार्यालय छन् भने चालु आर्थिक बर्षमा टुरिजमको ५ वटा एक्सटेन्शन काउन्टरसहित ४१ वटा शाखा पुग्दैछ । मेगा र टुरिजमको मर्जरपछि ११ वटा एक्सटेन्शन काउन्टरसहित ११२ वटा शाखा कार्यालय हुने भएका छन् । यसैगरी, कुल निक्षेप ४९ अर्ब ५० करोड र कर्जा ४५ अर्ब ५९ करोड रुपैँया पुग्नेछ ।