काठमाण्डौ । मेगा बैंक लिमीटेडले विषम परिस्थितिका बाबजुद खूद नाफालाई बढाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख बढी खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.४६ प्रतिशतले बढी हो । 

बैंकले खूद नाफामा उल्लेख्य बढोत्तरी गरेसँगै अन्य सूचकहरुमा पनि निरन्तर प्रगति गर्दै गइरहेको देखिएको छ । 

अघिल्लो वर्ष ८८ करोड ३४ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ३० करोड माथि पुगेको छ भने १ अर्ब ३३ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ५१ करोड माथि पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ४९ करोड ८३ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ अर्ब ६७ करोड रहेको रिजर्बको आकार सामान्य बढेर ३ अर्ब ६८ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ३६ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो नियामकीय व्यवस्थाभन्दा माथि रहेको छ । ९० प्रतिशत हुनुपर्ने यस्तो अनुपात ९१.२१ प्रतिशत रहेको छ । 

नाफामा सुधार भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) अघिल्लो वर्षको १८.२१ रुपैयाँबाट बढेर यो वर्ष रु. २४.२४ पुगेको छ भने १.०१ को अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.८९ प्रतिशतमा झार्ने महत्वपूर्ण सफलता बैंकले पाएको देखिएको छ । 

निक्षेप तान्नका लागि रेट बढाबढको खेल चलिरहेकै समयमा बैंकको कस्ट अफ फण्ड घटेर ४.९६ प्रतिशतमा सीमित बन्न पुगेको छ भने आधार दर ९.८१ प्रतिशत, मूल्य आम्दानी अनुपात १३.६० गुणा, प्रतिसेयर नेटवर्थ १४४.९९ रुपैयाँ र तरलता अनुपात २०.७० प्रतिशत रहेको छ ।