काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ। 

नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एडीबीको आठौँ साझेदार बैंक बनेको छ। दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योगव्यवसायलाई प्रबर्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ। नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो। 

यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकलाई अब कारोबार गर्न सहज हुने भएको छ। सामान आयात तथा निर्यातका लागि प्रतीतपत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभुति पत्र (ग्यारेन्टी) दिने काम गर्छ। जसले नेपालको व्यवसाय प्रबर्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडको विश्वास छ। 

मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली भन्छिन्, ‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु।’