काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ। 

११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो। त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौँ’, अध्यक्ष शाहले भने, ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं।’

मेगा बैंकका अध्यक्ष शाहले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। ‘युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ’, उनले भने। 

मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रहेको अध्यक्ष शाहले बताए। ‘यो बीचमा मेगा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ’, अध्यक्ष शाहले भने। 

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारी र सरोकारवालाको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औँ वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन्। मेगा बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्राण्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको बताए। 

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सीईओ खुञ्जेलीले बताए। ‘कोभिड– १९ को विद्यमान अबस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरुप ग्राहकहरुलाई लक्षित गर्ने योजना बनाएका छौँ’, उनले भनिन्। 

सञ्चालनको ११ बर्षको छोटो अवधिको वित्तिय सूचकांकलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाई हासिल गर्न सफल भएको छ भने आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको छ। जसले गर्दा कोभिडको महामारीको मारमा परेका कर्जा ग्राहक र नयाँ व्यावसाय विस्तार गर्ने तयारीमा रहेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराइरहेको छ। 

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको ११ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा वृहत वृद्धि भएको छ। देशको २८ औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्तापुँजीका हिसाबले छैटौँ स्थानमा छ। २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ। 

मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १७८ शाखा सञ्जाल, १३७ वटा एटीएम, ३३ वटा एक्टेन्सन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आउँदैछन्। 

सिन्धुपाल्चोक र मनाङका बाढी पहिरोपीडितलाई १२ लाख सहयोग 

मेगा बैंक नेपाल लिमिटेडले ११ औँ वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ।  

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढीपहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो। २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्यअनुरुप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ। 

भिडियो लिंकः https://youtu.be/JkqZdpmqy3w