काठमाण्डौ । देशकै ठूलो बैंकको रुपमा रहिरहने उद्देश्यले ग्लोबल आइएमई बैंकले अन्य दुई वाणिज्य बैंकहरुलाई समेत मर्जर गर्नका लागि सहमतिको प्रयासलाई तीव्र पारेको छ । 

अहिले भइरहेका प्रयासहरु सार्थक बने भने नेपालको व्यवसायिक जगतका प्रतिष्ठित पात्र चन्द्र ढकालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष हुने सपना पूरा हुनेछ । 

ढकालनिकट उच्च स्रोतकाअनुसार ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू(बीओके) र मेगा बैंकसँग एकैपटक मर्जरको सम्झौता गर्ने गरी सहमतिको प्रयासलाई तीव्र पारेको छ । 

बीओकेसँग धेरैपटक वार्ता भई लगभग सहमतिको खाका बनिसकेको भए पनि पछिल्लो समय मेगा बैंकसँग समेत सहमतिको संभावना देखिएपछि एकैपटक २ वटा वाणिज्य बैंकसँग मर्जरको एमओयू गर्ने योजनाका साथ वार्ता तथा छलफलहरुलाई अगाडि बढाइएको स्रोतले दाबी गरेको छ । 

'यी दुई बैंकलाई समेत मर्जर गराउन सकेमा ४० अर्बभन्दा बढीको ठूलो बैंक बन्ने र ग्लोबल आइएमई बैंकले सबैभन्दा ठूलो बैंकको अहिलेको ताज समेत गुमाउनु नपर्ने ढकाल लगायतका संचालकहरुको विश्लेषण रहेको छ ।' स्रोतले भन्यो-'मेगा बैंकसँगको छलफल पनि सहमति नजिक छ ।' 

हाल पनि ग्लोबल आइएमई बैंक पूँजीको आकारको हिसाबले देशकै सबैभन्दा ठूलो बैंक हो । तत्कालीन जनता बैंकलाई प्राप्तिपछि यो बैंक देशकै ठूलो बैंक बनेको हो । तर, यही बीचमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरको सम्झौता गरेपछि सबैभन्दा ठूलो बैंकको अध्यक्षको रुपमा रहने चन्द्र ढकालको सपना धरमराएको थियो । आफ्नो त्यही सपनालाई कायमै राख्ने उद्देश्यले चन्द्र ढकालकै योजनामा मेगा मर्जरको प्रयासलाई तीव्रता दिइएको बताइएको छ । 

'ग्लोबल आइएमई बैंकसँग दुवै बैंकको सम्मानजनक सेयर स्वाप रेसियोको विषयमा लगभग सहमति भइसकेको छ ।' स्रोतले भन्यो-'मर्जरको जटिल विषयको रुपमा देखिएको कर्मचारी समायोजनसँग सम्बन्धित इस्यूले केही अड्काइरहेको देखिन्छ । यो विषयमा सहमति भएलगत्तै ग्लोबलले बीओके र मेगासँग मेगा मर्जरको सहमति गर्नेछ।' 

मेगा बैंकका एक संचालकले पनि बिजशालासँग कुरा गर्दै ग्लोबल आइएमई बैंकसँग मर्जरका लागि छलफलहरु चलिरहेको, तर निश्कर्षमा नपुगेको जानकारी दिएका छन् । 'छलफललाई हामी दुवै पक्षले छाडेका छैनौं ।' ती संचालकले बिजशालासँग भने-'दशैंतिहारको बीचमा केही गुड न्यूज आउनसक्छ ।'

ती संचालकले बीओकेलाई पनि मेगासँगै मर्जरमा ल्याउने ग्लोबलको प्रयास आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिए । 

उता, बीओकेको व्यवस्थापनमा रहेका एक उच्च अधिकारीले भने ग्लोबल आइएमई बैंकले केही साताअघि नै आफूहरुसँग मर्जरको सहमति गर्न खोजे पनि त्यो प्रक्रिया केही पर सर्ने भयो भनिनु पछाडिको कारण मेगा मर्जर नै हुनसक्ने दाबी गरे । 'अर्को वाणिज्य बैंकलाई पनि हामीसँगै मर्जरमा लैजानेसम्म हामीले पनि सुनेका हौं ।' ती अधिकारीले भने-'तर मेगा नै हो भन्ने चाहिँ थाहा छैन ।' 

हाल ग्लोबल आइएमई बैंकको चुक्तापूँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंक अफ काठमाण्डौको ९ अर्ब ८५ करोड र मेगा बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बराबरी स्वाप रेसियोमा २ बैंकसँग मर्जरको सम्झौता भएमा ग्लोबल आइएमई बैंक ४५ अर्ब चुक्तापूँजी भएको निकै ठूलो बैंक बन्नेछ ।