काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। 

काठमाण्डौ उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। दोस्रो चरणमा देशका अन्य जिल्लाका कृषकलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ। 

इच्छुक कृषकले आवश्यक काजगात पेस गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउनेछ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अवस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैंकको विश्वास छ।