काठमाण्डौ । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ।

भेन्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणाअनुरुप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ। 

उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सीईओ अनुपमा खुञ्जेली अतिथिका रुपमा उपस्थित थिए। फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताए। 

यसैगरी सीईओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापनमात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्नसमेत मद्दत मिल्ने बताइन्। दीर्घकालीन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सधैँ तत्पर रहेको उनको भनाइ थियो। 

दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब १ हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ। यसका साथै यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ। 

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सीएनजी ग्यास उत्पादन हुनेछ। जसबाट धरानमा रहेका तीनपांग्रे सवारीसाधन (टेम्पो)मा प्रयोग गरिनेछ। 

धरानमा रहेका करिब ३०० वटा टेम्पोहरुमा सिलिन्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ। यहाँबाट उत्पादित सीएनजी ग्यासको प्रयोगले दैनिक करिब १ हजार ५०० देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ। जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैयाँको आयात कम हुने विश्वास लिइएको छ। 

विश्वका प्रायःजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सीएनजी ग्यास पेट्रोलभन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ। 

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा तीनपांग्रे टेम्पोलाई सीएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ।