काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्।

नायब सीईओ श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओमा नियुक्त गरेको हो। विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चतुर्थ)बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन्। 

मेगा बैंकको स्थापनादेखि नै नायब महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब सीईओ हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको वाणिज्य बैंकको पहिलो महिला सीईओका रुपमा ४ वर्षअघि मेगा बैंकको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको सीईओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब सीईओ श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरिएको हो।

३१ वर्षको बैंकिङ सेवामा ४ वर्ष सीईओको जिम्मेवारीसहित मेगा बैंकमा १२ वर्षभन्दा बढी अवधि सेवा गरेकी खुञ्जेलीलाई बैंकको उन्नति, प्रगति तथा श्रीवृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्ने निर्णयसमेत बैंक सञ्चालक समितिले गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए। आफ्नो चारवर्षे कार्यकाल पूरा गरी बिदा भएकी खुञ्जेलीको सम्मानमा बैंकले बिदाइ समारोहको आयोजना गर्ने पोखरेलले बताए।