काठमाण्डौ । मेगा बैंक नेपालले नेपालपे क्यूआरलाई आफ्नो मेगा स्मार्ट बैंकिङ एपमा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्। 

यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल गरेको छ। मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप वा नेपालपे क्यूआरमार्फत सक्षम पारिएका अन्य कुनै पनि उपकरणहरु प्रयोग गरेर आफ्ना ग्राहकबाट प्राप्त हुने वस्तुहरु व्यवस्थापन गर्न मर्चेन्टका रुपमा नामांकन गर्न सक्नेछन्। 

नेपालपे क्यूआरलाई नेपाल क्लियरिङ हाउस(एनसीएचएल)ले राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत नेपाल राष्ट्र बैंकले जारी गरेको नेपाल क्यूआर मापदण्डको कार्यान्वयन गर्ने पूर्वाधारका रुपमा सञ्चालन र कार्यान्वयन गरेको छ। यो पूर्वाधारले स्वतन्त्र क्यूआर योजना लागू गर्न अनुमति दिने गर्दछ र मर्चेन्ट र नेटवर्क स्तरमा क्यूआर कोडको अन्तरसञ्चालन सुविधा उपलब्ध गराउँछ। 

मेगा बैंकको मोबाइल बैंकिङ एपमा क्यूआर कोड सुचारु भएसँगै र मर्चेन्ट क्यूआर प्राप्ति भएसँगै रिटेल स्तरमा डिजिटल कारोबार थप वृद्धि हुने अपेक्षा गरिएको छ। जुन मेगा बैंकको प्रमुख लक्ष्य रहँदै आएको छ। 

मेगा बैंकले देशभर रहेका आफ्ना २०७ शाखा, २५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ सेवा र १४० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।