काठमाण्डौ । मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७८/७९ मा ११ प्रतिशतको लाभांश क्षमता बनाएको छ । 

बैंकले समीक्षा अवधिका लागि १ अर्ब ६३ करोड रुपैयाँको वितरणयोग्य मुनाफा आर्जन गरेको हो । बैंकमा सेयर प्रिमियमको रुपमा रहेको २० करोड ७८ लाख रुपैयाँ पनि वितरण गर्न मिल्छ । यसरी हेर्दा मेगाले ११.४३ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको हो । 

मेगाले खूद मुनाफातर्फ पनि निकै राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष २ अर्ब ८३ करोड नाफा आर्जन गरेको हो । यो हिसाबले खूद नाफातर्फ बैंकले २१.७८ प्रतिशतले बढोत्तरी गरेको छ । 

बैंकले अघिल्लो वर्ष ३ अर्ब २८ करोडमा सीमित संचालन मुनाफामा करिब २६ प्रतिशतको प्रगति गर्दै ४ अर्ब १३ करोडको उचाई चुमाएको छ भने ५ अर्ब ७९ करोडमा रहेको खूद ब्याज आम्दानी बढेर ५ अर्ब ९१ करोड पुगेको छ । 

यस्तै, अघिल्लो वर्ष ३ अर्ब ६७ करोडमा सीमित रिजर्बको आकार बढेर ५ अर्ब १ करोड पुगेको छ भने १.२३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.७३ प्रतिशतमा सीमित गर्न बैंक सफल देखिएको छ । 

बैंकको मुनाफा बढेसँगै प्रतिसेयर आम्दानी(इपीएस) पनि बढेको छ । अघिल्लोव वर्ष रु. १५.८७ रहेको इपीएस बढेर यो वर्ष १७.५७ रुपैयाँ कायम भएको हो । 

अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ खर्ब ३६ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब बढी कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिमा भने बैंकले १ खर्ब ५३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरेको छ । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.५८ प्रतिशत, आधार दर १०.०१ प्रतिशत, पीई रेसियो १२.८७ गुणा कायम भएको छ ।