काठमाण्डौ । मेगा बैंक लिमीटेडले राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । 

मेगा बैंकको राजधानीमा अवस्थित हेडक्वार्टरमा केहीबेरअघि दुई बैंकका अध्यक्षबीच प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

मेगा बैंक लिमीटेडका संचालक समिति अध्यक्ष भोजबहादुर शाहले राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई मेगाले प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको पुष्टि गरे । 

गण्डकी विकास बैंकका संचालक समिति अध्यक्ष सुशील गौचन र मेगाका अध्यक्ष शाहले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

गण्डकी विकास बैंकलाई प्राप्ति गरेसँगै मेगा बैंक नेपाल लिमीटेड कर्जा र निक्षेपको आकारको दृष्टिकोणले वाणिज्य बैंकहरुमध्ये ११ औं स्थानमा उक्लिनेछ । 

प्राप्तिपछि बन्ने संस्थाको नाम मेगा बैंक नै रहनेछ भने बैंकका अध्यक्ष तथा संचालक मेगा बैंककै र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै निरन्तर रहने सम्झौता भएको छ । 

गण्डकी विकास बैंकलाई प्राप्तिपछि बन्ने बैंकमा कर्मचारीको संख्या २ हजार पुग्नेछ भने शाखा संख्या २०० नाघ्नेछ । चुक्तापूँजी १३ अर्ब माथि पुग्नेछ । 

मेगा बैंकले केही वाणिज्य बैंकहरुसँगै मर्जरमा जाने कोशिश गरेको थियो । तर, यो बाटो केही असहज हुने देखिएपछि बैंकले रणनीति परिवर्तन गरी आफूभन्दा साना संस्थालाई गाभेर ठूलो हुने योजना बनाएको गण्डकी विकास बैंकसँगको प्राप्ति सम्झौताले देखाउँछ ।