काठमाण्डौ । गण्डकी विकास बैंकलाई गाभेको मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ११ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

बैंकको हालको चुक्तापूँजी १३ अर्ब १३ करोड रुपैयाँ रहेको छ। सेयर प्रिमियमको रुपमा २ करोड ७८ लाख रहेको छ । यसरी हेर्दा यो बैंकले समीक्षा अवधिका लागि लगानीकर्तालाई ९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

बैंकको रिटेन अर्निङ १ अर्ब २२ करोडबाट घटेर १ अर्ब ११ करोडमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ५२ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ६२ करोड नाफा आर्जन गरेको थियो । 

कोरोनाका कारण ठूलो रकम प्रभिजनमा राख्नुपर्दा र कतिपय नियामकीय व्यवस्थाका लागि रकम छुट्याउनुपर्दा लगानीकर्तालाई बाँड्न मिल्ने नाफा केही कम हुन गएको छ । 

राष्ट्रबैंकले असारसम्म नउठेको ब्याज उठाउने समय आश्विनसम्म दिएको र त्यसबेलासम्म उठेको रकम आर्थिक वर्ष ०७६/७७कै लेखाङ्कनमा समावेश गर्न पाइने व्यवस्था भएकोले यो अवधिसम्म बैंकले वितरण गर्नसक्ने लाभांश बढ्नसक्छ । 

मेगा बैंकको संचालन मुनाफा पनि घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ३३ करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष २ अर्ब १५ करोडमा सीमित बन्न पुगेको देखिएको छ । 

अघिल्लो वर्ष ३ अर्ब ७९ करोडमा सीमित खूद ब्याज आम्दानीको आकार बढाएर यो वर्ष ४ अर्ब १७ करोडको उचाई चुमाएको बैंकले १ अर्ब ९० करोडमा सीमित रिजर्बको आकार बढाई ३ अर्ब ३२ करोड बनाएको छ । 

समीक्षा अवधिमा मेगा बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरी १ खर्ब १० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ७८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड बढी कर्जा परिचालन गरेको थियो । राष्ट्रिस्तरको विकास बैंकलाई मर्जर गरेका कारण समेत निक्षेप र कर्जातर्फ बैंकको यस्तो प्रगति देखिएको हो । 

अघिल्लो वर्ष १५.६९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानीमा सामान्य गिरावट आई १४.५२ रुपैयाँ कायम भएको छ भने ०.९८ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात केही बढी १.२० प्रतिशत पुगेको छ । 

यो अवधिमा बैंकको कस्ट अफ फण्ड ६.९३ प्रतिशत, सीडी रेसियो ७५.३५ प्रतिशत, असार अन्तिमको बेस रेट ८.३२ प्रतिशत, मूल्य आम्दानी अनुपात १४.३२ गुणा, प्रतिसेयर नेटवर्थ १३३.९९ रुपैयाँ, तरलता अनुपात २८.३६ प्रतिशत कायम भएको छ ।