काठमाण्डौ । मेगा बैंक नेपाल र मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङको बेनी रोराङ गाउँपालिकामा साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएका छन्।

यस विषयमा मेगा बैंकको लघु तथा कृषि कर्जा विभागका प्रमुख पुण्यप्रसाद खनिया, मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले सोमबार चौपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार मेगा क्यापिटलले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमीव्यवसायीको व्यवसाय तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिने र दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणलगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमी यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ।

यसले स्थानीयस्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा बिस्तारमा सहयोग पुग्नुका साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।