काठमाण्डौ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले मंगलबार काठमाण्डौ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रशिक्षकसहित मस्तिष्क पक्षघातपछिको पुनर्स्थापना विषयमा दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। 

नेदरल्यान्डका डा. हान फ्र्यांक र डा. पल डोबेलस्टेइजन रिसोर्स पर्सनका रुपमा रहेको कार्यक्रमको उद्घाटनसत्रमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्युरोलोजिस्ट तथा न्युरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलले यो प्रशिक्षणले नेपाली फिजियोथेरापिष्टहरुलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको बताए। 

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी फिजियोथेरापी विभाग प्रमुख डा. मञ्जु ज्ञवालीले नेदरल्यान्डबाट प्रशिक्षणका लागि नेपाल आएका डा. फ्र्यांक र डोबेलस्टेइजनलाई धन्यवाद ज्ञापन गरे। वरिष्ठ न्युरालोजिस्ट डा. लेखजंग थापा र न्युरो फिजियोथेरापी विज्ञ गोविन्द मनी नेपालको समेत उपस्थिति रहेको कार्यक्रम बुधबारसम्म जारी रहनेछ।

मस्तिष्क पक्षघातपछिको पुनर्स्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सीईयूबराबरको क्रेडिट प्राप्त गर्नेछन्। मस्तिष्क पक्षघात भएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरि कुमको दुखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रिया अपनाउन आवश्यक छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नेछ। यस प्रशिक्षणले व्यावहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पुर्याउन सक्ने अपेक्षा प्रशिक्षकहरुको रहेको छ।

कार्यक्रम नेपाल मेडिसिटी अस्पतालको सभाहलमा असोज १२ गते बुधबारसम्म सञ्चालनमा रहनेछ।