काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वाणिज्य बैंक र विकास बैंकले राम्रो प्रगति गरिरहेको बेला माइक्रोफाइनान्स कम्पनीहरु भने नाफामा गिरावटको मार व्यवहोरिरहेका छन्। यहीकारण बजारमा महङ्गो मूल्यमा किनबेच भइरहेका माइक्रोफाइनान्सहरुको बित्तीय विवरण खराब देखिएको छ । 

मंगलबार  आफ्नो अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडको खूद नाफा घटेको छ । गत वर्ष यही अवधिमा ४ करोड ६४ लाख रहेको नाफा घटेर ३ करोड ४५ लाखमा सीमित बन्न पुगेको हो ।

कम्पनीको खूद ब्याज आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा यो माइक्रोफाइनान्सको खूद ब्याज आम्दानी १० करोड २८ लाख भएको छ । गत वर्ष यही  अवधिमा यस्तो  आम्दानी  १० करोड ५२ लाख थियो ।

समीक्षा अवधिमा यो कम्पनीले ६२ करोड ३० लाखको निक्षेप संकलन तथा २ अर्ब  ७ करोड सापटी लिई २ अर्ब ६६ करोड बराबरको कर्जा  प्रवाह गरेको छ । अघिल्लो वर्ष ३५ करोड ३७ लाख निक्षेप संकलन तथा १ अर्ब ६३ करोड सापटी लिई  १ अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

कम्पनीको रिजर्ब कोषमा पनि गिरावट आएको छ । गत वर्ष यही अवधिमा १२ करोड ३२ लाख  रहेको कोषमा रकम घटेर ९ करोड ८३ लाखमा सीमित बन्न पुगेको छ ।

कम्पनीको संचालन नाफा पनि घटेको छ । अघिल्लो वर्ष ७ करोड २९ लाख रहेको यस्तो नाफा घटेर ५ करोड ४२ लाखमा सीमित  बन्न पुगेको हो । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्स कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४२.१९ रुपैयाँबाट घटेर २४.१६ रुपैयाँ कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३४.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.४६ गुणा कायम भएको  छ ।