काठमाण्डौ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको भिक्टोरिया राज्यको मेलबर्नमा कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बिहीबारदेखि थप ७ दिन कडा लकडाउन लगाइएको छ। तर यो सहरमा अहिलेसम्म कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या केवल २६ मात्रै रहेको छ। 

मेलबर्नको जनसंख्या ५० लाख रहेको छ। मेलनबनका बासिन्दालाई अहिले घरबाट बाहिर निक्लन र एकअर्कासँग भेटघाट गर्न पूर्ण रोक लगाइएको छ। यति धेरै जनसंख्या भएको सहरमा अहिलेसम्म २६ जनामा मात्रै कोरोना पुष्टि हुँदा लडकडाउन लगाउने निर्णय उचित हो त भन्ने प्रश्न आउन सक्छ। 

के कारण लगाउनुुपर्यो त लकडाउन ?

यो प्रश्नमा मेलबर्न प्रशासनले होटेल क्वारेन्टिनका क्रममा नियमहरुको उल्लंघन गरिएको जबाफ दिएको छ। जस कारण कोरोना संक्रमणका केसमा वृद्धि आएको छ। यतिमात्रै नभई पोजेटिभ देखिएकामा कोभिडको अतिसंक्रामक स्ट्रेन बी१६१७ देखिएको छ। 

यसका अलावा भिक्टोरिया राज्यमा कोरोनाविरुद्धको खोप अभियान पनि एकदमै सुस्त छ। यस्तोमा थप जोखिम नलिईकन तत्कालै मानिसको क्रियाकलापमा प्रतिबन्ध लगाइएको मेलबर्न प्रशासनले जनाएको छ। 

भिक्टोरियाका कार्यवाहक स्टेट प्रिमियर जेम्स मर्लिनोले भाइरसको अत्याधिक संक्रामक स्ट्रेनसँग जुधिरहेको बताए। उनका अनुसार यो स्ट्रेनका कारण मेलबर्नमा कोरोना संक्रमणका केसहरुमा तीव्रता आइरहेको छ। यो भाइरसको संक्रमणको गति पहिलेको तुलनामा एकदमै धेरै रहेको छ। यही स्ट्रेनले यतिबेला भारत र नेपालमा भयावह रुप लिएको छ। यो स्ट्रेनको भाइरस विदेशबाट अस्ट्रेलिया फर्किएका एकजना यात्रुमार्फत फैलिएको जनाइएको छ।  

लकडाउनका आदेशसँगै बिहीबार रातिदेखि त्यहाँका स्कुल, पब, रेस्टुराँहरु बन्द गरिएका छन्। मानिसहरुलाई एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ। यसका साथै मानिसलाई सार्वजनिक स्थानहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ। 

मेलबर्नमा नयाँ स्ट्रेन देखिएसँगै न्युजिल्यान्डले भिक्योरियाबाट आउने उडानमाथि रोक लगाएको छ। यतिमात्रै नभई अस्ट्रेलियाकै अन्य राज्यहरुले पनि भिक्टोरियाबाट आउने यात्रुहरुमाथि निगरानी बढाएको छ। 

भिक्टोरियाका प्रिमियरले राज्यमा सुस्त गतिमा भइरहेको खोप अभियानका लागि प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको कन्जरभेटिभ केन्द्र सरकारलाई मुख्य जिम्मेवार ठहराएका छन्। उनले मेलबर्नको लकडाउनका लागि प्रधानमन्त्री मोरिसन जिम्मेवार रहेको बताए। यदि कोरोनाविरुद्धको भ्याक्सिन अधिक जनसंख्यालाई दिन सकिएको भए आज आफूहरु फरक अवस्थामाको सामना गरिसकेको हुने उनले बताए। 

कोरोना महामारी सुरु भएसँगै मेलबर्नमा लगाइएको यो चौथो लकडाउन हो। गत वर्ष पनि मेलबर्नमा ४ महिनाको कडा लकडाउन लगाइएको थियो। मेलबर्नमा लकडाउन सुरु हुुनुुअघि ठूलो संख्यामा मानिसहरु आवश्यक सामग्री खरिदका लागि निस्किएका कारण संक्रमणको जोखिम धेरै रहेको बताइएको छ। – एजेन्सी