काठमाण्डौ । मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ७ वटा बैंकले ऋण लगानी गर्ने भएका छन्। 

यो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र सिभिल बैंकसहित ७ बैंकले रु. ७०० करोड (रु. ६७५ करोड आवधिक कर्जा र रु. २५ करोड चालु पुँजी कर्जा) ऋण लगानी गर्ने भएका हुन्। यस सम्बन्धमा आयोजना प्रवर्द्धक कम्पनी युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि एवं बैंकहरुबीच हिजो बिहीबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ। 

प्रदेश नंं. १ को ताप्लेजुङ जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ गाविस (हालको मेरिङदेन गाउँपालिका) मा निर्माण गरिने यो आयोजनाको अनुमानित लागत करिब रु.९ अर्बमा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु.६ अर्ब ७५ करोडबराबरको ऋण लगानी गर्नेछन्। यसमध्ये सिटिजन्स बैंकबाट रु. १ अर्ब ४५ करोड, कुमारी बैंकबाट रु. १ अर्ब, मेगा बैंक नेपालबाट रु. १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट रु. १ अर्ब, नेपाल एसबीआई बैंकबाट रु. ८० करोड, सिद्धार्थ बैंकबाट रु. १ अर्ब, र सिभिल बैंकबाट रु. ५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ।

आयोजनाको निर्माण आगामी ३ वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराइएको छ।

निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ।