काठमाण्डौ । कोपा अमेरिका कपमा आफ्नो देशले हार व्यहोरेपछि चर्चित फुटबलर लियोनल मेसीले फुटबल खेलबाट सन्यास लिएका छन् । आफ्नो जादूमय खेल कलाबाट विश्वलाई आफ्नो दिवाना बनाउन सक्षम मेसीको खर्च र सौख पनि शाही शैलीकै छ । मेसीले करिब ८ सय ९६ करोड रुपैयाँमा आफ्नो दुवै खुट्टाको इन्स्योरेन्स गराएका छन् । उनको साथमा विश्वमा चर्चित लक्जरी कारहरुको कलेक्सन छ । मेसी फुटबल ग्राउण्डको आकारमा डिजाइन गरिएको विशेष किसिमले निर्माण गरिएको घरमा बस्छन । आउनुहोस्, जानौं उनको महंगो जीवनशैली र खर्चको बिषयमा :

कति कमाउँछन मेस्सी ?
फोब्र्स पत्रिकाले विश्वमा सबैभन्दा धेरै कमाई हुने खेलाडीको सूचिमा मेसीलाई दोश्रो नम्बरमा राखेको छ । उनको एक वर्षमा फुटबल खेलेरै कुल ५ सय ७६ करोड रुपैयाँ आम्दानी हुन्छ । यसैगरी, उनी विभिन्न खालका विज्ञापनहरुमा खेलिदिएबापत बार्षिक ३ सय २० करोड भन्दा बढी कमाउँछन । यो हिसाबले उनको एकवर्षको कमाई करिब १ हजार करोड रुपैयाँ हुन आउँछ । 

मेसीको कार


मेसीसँग विभिन्न खालका महंगा कारहरु रहेका छन् । तीमध्ये पछिल्लो समय उनले ‘मसराती ग्रानटुरिजम’ किनेका छन्, जसको बजार मूल्य २.५६ करोड रुपैयाँ छ । 

मेसीसँग ‘फरारी एफ ४३० स्पाइडर’ कार समेत रहेको छ । यसको बजार मूल्य ७.१३ करोड रुपैयाँ हो । 

मेसीसँग ‘ओडी आर ८ स्पाइडर’ नामको अर्को महंगो कार समेत छ । यसको बजार मूल्य ३.६६ करोड रुपैयाँ रहेको छ । 

फुटबलको ग्राउण्ड  आकारको घर
मेसीले हालै बार्सिलोनामा फुटबलको ग्राउण्ड
 आकारको शानदार घर खरीद गरेका छन् । माथिबाट हेर्दा यो घर फूटबलको मैदानजस्तो देखिन्छ । यस बाहेक अर्जेन्टिनामा समेत उनको घर छ । एक छिमेकीले धेरै दुःख दिएपछि चिढिएका मेसीले सन् २०१४ मा छिमेकीको घर नै खरीद  गरेका थिए । 

८९६ करोडमा खुट्टाको बिमा
मेसीले आफ्ना शरीरका अंगहरुको समेत निकै महंगो बिमा गराएका छन् । द रिचेस्ट पत्रिकाका अनुसार मेसीले करिब ७५ करोड यूरो अर्थात ८ सय ९६ करोड नेपाली रुपैयाँ बराबरको खुट्टाको बिमा गराएका छन् । यसका लागि मेसीले हरेक वर्ष ८ करोड भन्दा बढी रकम प्रिमियमको रुपमा बुझाउँछन । 

समाचारसँग सम्बन्धित फोटो तल छ ।