काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

आज साउन १४ गतेबाट यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ५ लाख ७ हजार ६०० आवेदकबाट ७१ लाख ४३ हजार ८०० कित्ता माग भएको हो। यो हिसाबले यो आईपीओमा १०.४३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो।