काठमाण्डौ । नेपालसँग सीमा जोडिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो लकडाउनको घोषणा गरेका छन् । 

आज साँझ देशबासीलाई सम्बोधन गर्दै उनले २१ दिन लामो लकडाउनको घोषणा गरेका हुन् । 

उनले आइतबार आफूबाट आह्वान भएको जनता कफ्र्यू सफल बनाउन सहयोग गरेकामा देशबासीलाई धन्यवाद समेत दिए । 

उनले अब भने देशभर २१ दिन लामो लकडाउनको घोषणा गरेका हुन् । २१ दिन लामो लकडाउन लामो अवधिको रहे पनि नागरिकको जीवन रक्षाका लागि यो महत्वपूर्ण रहेको भन्दै स्थानीय प्रशासन र सरकारलाई सहयोग गर्न देशबासीलाई आह्वान गरेका छन् । 

उनले कोरोना संक्रमणको लक्षण देखिएमा चिकित्सको सल्लाहबिना जथाभावी औषधि सेवन नगर्न समेत नागरिकहरुलाई आह्वान गरेका छन् । 

यस्तो बेलामा अनेक खालका अफबाह र अन्धविश्वास फैलिने उल्लेख गर्दै त्यसको पछि नलाग्न समेत उनले आग्रह गरेका छन् ।

भारत इतिहासकै कठीन मोडमा रहेको उल्लेख गर्दै यस्तो बेलामा पूरा देशले स्वास्थ्यलाई प्राथमिकतामा राखेको र आफ्नो प्राथमिकतामा कोरोना संक्रमणलाई कसरी कम गर्ने भन्नेमा केन्द्रीत रहेको समेत प्रष्ट्याए । 

लामो समयको लकडाउनका कारण देशको अर्थतन्त्रले निकै ठूलो क्षति व्यहोर्नुपर्ने उल्लेख गर्दै मोदीले आफ्नो सम्बोधनमा भनेका छन्-'तर यो बेला मेरो, भारत सरकारको, देशका प्रत्येक राज्य सरकारको र स्थानीय निकायको सबैभन्दा ठूलो प्राथमिकता नै जनताको स्वास्थ्य र जीवन हो ।' 

उनले नागरिकहरुलाई आफू जुन ठाउँ हो, त्यही ठाउँमा बसेर लकडाउनलाई सहयोग गरिदिन समेत आग्रह गरेका छन् । 

उनले एक पोस्टर देखाउँदै २१ दिने लकडाउन अवधिमा देशका कुनै पनि व्यक्ति सडकमा ननिस्किन समेत आह्वान गरेका छन् । उनले देखाएको पोस्टरमा कोको अर्थ कोइ, रो को अर्थ रोड पर र नाको अर्थ ना निकले लेखिएको छ । अर्थात कोही पनि रोडमा ननिस्किनू ।