काठमाण्डौ । मोबाइल फोन इम्पोटर्स एसोसिएसनले मोबाइल सेटको अवैध बिक्रीबितरण पूर्ण रुपमा अन्त्य गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ। 

एसोसिएसनले आइतबार एक विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो। अवैध बिक्रीबितरणका कारण मोबाइल फोन व्यवसायमात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको एसोसिएसनले जनाएको छ। 

विभिन्न मुलुकबाट चोरीपैठारी गरी भित्र्याइएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तीव्र रुपमा बढिरहेको छ। जसले गर्दा सरकारको राजस्वबापत संकलन गरिने ठूलो धनराशि गुमिरहेको छ भने मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यादित विकासमा अवरोध खडा भएको विज्ञप्तिमा उल्लेख छ। यतिमात्र नभई अवैध बिक्रीवितरणले मोबाइल सेटको आईएमईआई नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग आपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ। 

यी कारणहरुले गर्दा मोबाइल सेटको अवैध बजारको तत्काल पूर्ण रुपमा अन्त्य गर्नसम्पूर्ण मोबाइल फोन व्यवसायी, उपभोक्ता एवं सरकारको कर्तव्य हुन आउने एसोसिएसनको ठहर छ। एसोसिएसन र नेपाल मोबाइल वितरक सघंले देशभरका मोबाइल सेट बिक्रेताहरूलाई अवैध कारोबार नगर्न गत साउन १ बाट नै अनुरोध गरेका थियो। तर सो सूचनाको अवज्ञा गर्ने गरेको पाइएकोले उक्त व्यवसायीहरुलाई नियमसंगत कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिने विज्ञप्तिमा जनाइएको छ। 

यसैगरी मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन मोबाइल फोन इम्पोटर्स एसोसियसनले सरकारलाई चोरीपैठारीसम्बन्धी कानुनलाई कडाइका साथ लागू गर्न अनुरोधका साथै मोबाइल फोन बिक्रेताहरुलाई पनि कानुनी दायरमा बसी स्वस्थ व्यवसाय गर्न आह्वान गरेको छ। मोबाइल फोन उपभोक्तालाई पनि फोन खरिद गर्दा सचेत भई एमपीआईए अंकित होलोग्राम स्टिकर भएको फोनमात्र खरिद गर्न र पसलको आधिकारिक विल लिनु एसोसिएसनले आग्रह गरेको छ।