काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ। 

यसैबीच यो आईपीओ निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यसका लागि सनराइज क्यापिटल र मोलुङ्ग हाइड्रोपावर कम्पनीबीच आज सम्झौता भएको छ। काठमाण्डौको रविभवनस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यो आईपीओ छिटै निष्कासन गरिने पनि कम्पनीले जनाएको छ। 

गत फागुन ६ गते सम्पन्न कम्पनीको ११ साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ। जारी पुँजीमा सेयर संरचनाअन्तर्गत ५६% अर्थात ४४ करोड ९४ लाख रुपैयाँ संस्थापक सेयर र ४४% अर्थात ३५ करोड ३१ लाख रुपैयाँबराबरको सेयरको सार्वजनिक निष्काशनबाट संकलन गर्ने निर्णय सभाले गरेको थियो।